दूतावासले ‘घर फिर्ती शुल्क’ घटाउने

Published On: Friday, April 22, 2016 | Source: NRNA MALAYSIA

१६ हजार नेपाली घर फर्किए

क्वालालम्पुर, वैशाख ९ – मलेसियास्थित नेपाली दूतावासले गैरकानुनी हैसियतका नेपालीले घर र्फकंदा तिर्नुपर्ने शुल्क घटाउने भएको छ । त्यस्तो हैसियतका नेपालीलाई घर फर्काउँदा दूतावासको अनुमतिमा मलेसियाली अध्यागमनका पूर्वकर्मचारीहरूको संस्था ‘कोप्रिमा’ ले हाल १२ सय ८० रिंगिट शुल्क लिँदै आएको छ ।

उक्त शुल्कभित्र जरिवानास्वरूप प्रतिव्यक्ति अध्यागमनमा बुझाउनुपर्ने ४ सय रिंगिटसहित हवाई टिकट र अध्यागमन कार्यालयसम्मको यातायात खर्च समावेश गरिएको थियो । तर यसरी घर फिर्ती हुने कामदारलाई दलालहरूले ठगी गरेको गुनासोसहित समाचार सार्वजनिक भएसँगै दूतावासको चर्को आलोचना भएको थियो । आलोचनापछि पुरानो निर्णय हेरफेर गरी दूतावास शुल्क घटाउन तयार भएको हो ।

‘घर फिर्तीका लागि ‘कोपि्रमा’ ले लिँदै आएको शुल्क १० दिनभित्र घटाउँछौं,’ राजदूत निरञ्जनमान सिंह बस्न्यातले मंगलबार भने ‘शुल्क घटाउन भनिसकेका छौं । २५/३० रिंगिट घटाएर हामी मान्दैनौं । कोपि्रमाले नघटाए उसको ठाउँमा कम शुल्कमा पठाउन सक्ने अन्य संस्थासित समन्वय गर्छौं ।’

दूतावासले गत वर्ष अगस्ट २७ देखि उक्त संस्थासित समन्वय गरेर गैरकानुनी हैसियतका नेपालीलाई स्वदेश फर्काउँदै आएको छ । ती नेपालीका लागि जारी हुने यात्रा अनुमतिपत्रबापत जनही १ सय ६० रिंगिट राजस्व संकलन हुँदै आएको छ । त्यस्ता पत्र सहज तबरले उपलब्ध गराउन यहाँका विभिन्न संघसंस्थाले माग गर्दै आएका छन् । एमालेनिकट प्रवासी नेपाली मञ्च मलेसियाले मंगलबार दूतावासलाई ध्यानाकर्षणपत्र बुझाउँदै घर फिर्ने नेपालीलाई सहजै यात्रा अनुमति उपलब्ध गराउन भनेको थियो ।

राजदूत बस्न्यातका अनुसार हालसम्म १६ हजार नेपाली कोपि्रमामार्फत घर फर्किसकेका छन् । उनीहरूबाट करिब ७ करोड राजस्वसमेत संकलन भइसकेको छ । गत वर्ष अगस्ट २७ देखि डिसेम्बर ३१ सम्मको अवधिमा १२ हजार ५ सय नेपाली घर फर्केका थिए । उनीहरूले जनही १३ सय ४० रिंगिट बुझाएका थिए । मलेसियाली सरकारले यसै वर्ष जनवरीदेखि फेब्रुअरी १० सम्म गैरकानुनी हैसियतका आप्रवासी कामदारका लागि ‘फिर्ती कार्यक्रम’ रोकेको थियो । कोपि्रमाले फेब्रुअरी ११ यता अघिल्लो पटकको शुल्क घटाएर १२ सय ८० रिंगिट शुल्क लिँदै आएको छ ।

उक्त रकममध्ये दूतावासले कोपि्रमालाई कति सेवाशुल्क लिने अनुमति दिएको छ भन्ने अझै खुल्न सकेको छैन । यसले दूतावासमाथि आर्थिक इमानदारिताको प्रश्नसमेत उब्जिएको छ । राजदूत बस्न्यातले पहिले सेवाशुल्क तोक्नेबारे छलफल भए पनि हवाई टिकटको मूल्य घटबढ भइरहने भएकाले शुल्क निर्धारण गर्न नसकिएको दाबी गरे । ‘मैले उनीहरूलाई सेवाशुल्क निर्धारण गर्नुपर्‍यो भनेको थिएँ तर हवाई टिकटको शुल्क घटबढ हुने हुँदा तोक्न गाह्रो हुन्छ भनें ।’ बस्न्यातले कान्तिपुरसित भने, ‘अब हामी छिट्टै सेवाशुल्क स्पष्ट रूपमा सार्वजनिक गर्छौं ।’ उनले हवाई टिकट कामदारले आफूखुसी किन्न सक्ने निर्णय पनि गर्न सकिने बताए ।

यसैबीच एमआरपीका लागि फोटो खिच्न र फाराम भर्न चर्को असुली भइरहेको सार्वजनिक भएपछि दूतावासले उक्त कार्यका लागि बोलपत्र आहवान गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति: २०७२ वैशाख ९ ०४:५६